शुक्रबार २३ आश्विन, २०८३ (Friday October 09, 2026)

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधि सहभागी

बिहीबार २२ आश्विन, २०८३ Bichar Batika 1185


कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधि सहभागी

असोज २२ काठमाडौं ,नेपाली कांग्रेसको १५औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने निर्णायक चरणमा प्रवेश गरेको छ। सभापतिसहित नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ।
केन्द्रीय निर्वाचन समितिका अनुसार मतदान बिहान १० बजेदेखि सुरु हुनेछ। यसअघि बिहान ७ बजेदेखि मतदान गर्ने कार्यतालिका रहे पनि वर्षा र केही प्राविधिक समस्याका कारण मतदानको समय तीन घण्टा सारिएको हो।
कांग्रेसको आगामी नेतृत्व चयनका लागि ७ हजार २५५ महाधिवेशन प्रतिनिधि मतदानमा सहभागी हुँदैछन्। प्रतिनिधिहरूलाई सहज रूपमा मतदान गराउन काठमाडौंका तीन स्थानमा सात मतदान केन्द्र स्थापना गरिएको छ।
बागमतीका प्रतिनिधिले राष्ट्रिय सभागृह, गण्डकी र लुम्बिनीका प्रतिनिधिले प्रज्ञा भवन तथा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिमका प्रतिनिधिले खुलामञ्चमा मतदान गर्नेछन्। भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट निर्वाचित महाधिवेशन प्रतिनिधिले पनि खुलामञ्चबाटै मतदान गर्ने व्यवस्था गरिएको छ।
मतदान केन्द्रमा पुगेर प्रतिनिधिले परिचयपत्र र मतदाता नामावली रुजु गराएपछि मात्रै मतदान गर्न पाउनेछन्।
आजको मतदानसँगै कांग्रेसमा सभापतिदेखि पदाधिकारी र केन्द्रीय सदस्यसम्मको नेतृत्व कसको हातमा जाने भन्ने फैसला हुनेछ। त्यसैले १५औँ महाधिवेशनको आजको मतदानलाई कांग्रेसको आगामी राजनीतिक दिशा तय गर्ने महत्वपूर्ण क्षणका रूपमा हेरिएको छ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु