आईतवार २५ आश्विन, २०८३
असोज २५ काठमाडौं ,नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन आज घरघरमा विधिपूर्वक घटस्थापना गरी जमरा राखेसँगै दुर्गापक्ष अर्थात् नवरात्र आरम्भ हुनेछ ।
बडादसैँलाई धार्मिक, सांस्कृतिक तथा सामाजिक दृष्टिले महत्त्वपूर्ण पर्वका रूपमा लिइन्छ। असत्यमाथि सत्य, अन्यायमाथि न्याय र अधर्ममाथि धर्मको विजयको प्रतीकका रूपमा मनाइने यस पर्वमा देवी दुर्गाको आराधना गर्नुका साथै परिवार तथा आफन्तबीच आपसी सद्भाव, प्रेम र एकता अभिवृद्धि गर्ने परम्परा छ।
घटस्थापनाका दिन घरको पूजाकोठा वा दसैँघरमा शुद्ध स्थान तयार गरी विधिपूर्वक माटो र बालुवा राखिन्छ। त्यसमा जौ छरेर जमरा उमार्ने परम्परा छ। साथै जलपूर्ण कलश स्थापना गरी गणेश तथा देवी दुर्गाको पूजा–आराधना गरिन्छ।
घटस्थापना शब्दमा ‘घट’ भन्नाले कलश र ‘स्थापना’ भन्नाले स्थापित गर्नु भन्ने बुझिन्छ। यस दिन कलश स्थापना गरी देवी शक्तिको आह्वान गर्ने भएकाले यसलाई घटस्थापना भनिएको हो। नवरात्रभरि उक्त स्थानमा नियमित पूजा, आरती तथा दुर्गासप्तशती पाठ गर्ने धार्मिक प्रचलन छ।
जौ छरेर उमारिएको पहेँलो जमरा दसैँको प्रमुख धार्मिक प्रतीक हो। जमरालाई समृद्धि, उर्वरता, जीवनशक्ति र शुभताको प्रतीकका रूपमा लिइन्छ। विजयादशमीका दिन रातो टीकासँगै जमरा ग्रहण गरी मान्यजनबाट आशीर्वाद लिने चलन छ।नवरात्रका नौ दिन र नवदुर्गाको पूजा
नवरात्रमा नौ दिनसम्म देवी दुर्गाका विभिन्न स्वरूपको पूजा–आराधना गरिन्छ। धार्मिक मान्यताअनुसार प्रत्येक दिन देवीको फरक स्वरूपको उपासना गर्ने परम्परा छ।
नवरात्रका नौ स्वरूप यसप्रकारकाे रहेकाे छ ,
शैलपुत्री,ब्रह्मचारिणी,चन्द्रघण्टा,कूष्माण्डा,स्कन्दमाता,कात्यायनी,कालरात्रि,महागौरी,सिद्धिदात्री,नवरात्रमा महाकाली, महालक्ष्मी र महासरस्वतीलाई क्रमशः शक्ति, धन–सम्पन्नता तथा विद्या र बुद्धिको प्रतीकका रूपमा आराधना गर्ने परम्परा पनि छ।