सोमबार २६ आश्विन, २०८३
असोज २६, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी कर्मचारीलाई पेसागत जिम्मेवारी निर्वाह गर्दा नैतिकता, निष्ठा र इमानदारीमा कुनै सम्झौता नगर्न निर्देशन दिनुभएको छ। उहाँले संविधान र प्रचलित कानुनको पूर्ण पालना गर्दै निष्पक्ष, भेदभावरहित र जवाफदेही भएर काम गर्न प्रहरी कर्मचारीलाई आग्रह गर्नुभएको हो।
सोमबार महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रतिष्ठानमा आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले तालिममा हासिल गरेका ज्ञान, सीप र अनुभवलाई कार्यक्षेत्रमा प्रभावकारी रूपमा लागू गर्न निर्देशन दिनुभयो।
उहाँले पेसागत आचरण र अनुशासन कायम राख्दै संविधान, प्रचलित कानुन, नियम, कार्यविधि तथा मापदण्डको सही पालना गर्नु प्रहरी कर्मचारीको महत्त्वपूर्ण दायित्व भएको बताउनुभयो। जिम्मेवारीप्रति जवाफदेही हुनु नै पेसागत सफलता र विश्वसनीयताको आधार भएको उहाँको भनाइ थियो।
प्रधानमन्त्री शाहले नेपालमा शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने तथा नागरिकको स्वतन्त्रता र अधिकारको रक्षा गर्ने महत्त्वपूर्ण जिम्मेवारी नेपाल प्रहरीको काँधमा रहेको उल्लेख गर्नुभयो। प्रहरी कर्मचारीले कुनै पनि अनुचित प्रभावमा नपरी निष्पक्ष र भेदभावरहित ढङ्गले कर्तव्य निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
नागरिकको भावना, आवश्यकता र अपेक्षालाई सम्बोधन गर्दै सङ्गठनप्रति प्रतिबद्ध भएर काम गर्नुपर्ने उल्लेख गर्दै उहाँले प्रहरी सेवामा इमानदारी, अनुशासन र व्यावसायिकता अनिवार्य रहेको बताउनुभयो।
अपराध अनुसन्धानमा प्रविधिको प्रयोगमा जोड
प्रधानमन्त्री शाहले अपराध अनुसन्धानलाई थप प्रभावकारी, वैज्ञानिक र पारदर्शी बनाउन सूचना प्रविधिको उचित प्रयोगमा जोड दिनुभएको छ।
सूचना प्रविधिको सदुपयोगले प्रहरीको कामलाई छिटो, सहज र प्रभावकारी बनाउनुका साथै समयमै अपराध अनुसन्धान गर्न तथा घटनालाई नियन्त्रणमा लिन महत्त्वपूर्ण सहयोग पुग्ने उहाँले बताउनुभयो।“अपराधको निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमुखी अनुसन्धानका लागि सूचना प्रविधिको सही सदुपयोग गर्नुपर्नेछ,” उहाँले भन्नुभयो।
अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन आवश्यक स्रोतसाधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको पनि प्रधानमन्त्री शाहले स्पष्ट पार्नुभयो। यसका लागि प्रहरी सङ्गठनको नेतृत्व, व्यावसायिक दक्षता र प्रभावकारी प्रशिक्षणको भूमिका महत्त्वपूर्ण हुने उहाँको भनाइ थियो।
७९ प्रहरी निरीक्षक दीक्षित
समारोहमा प्रहरी निरीक्षक आधारभूत तालिम पूरा गरेका ७९ जना प्रहरी निरीक्षक दीक्षित भएका छन्।
प्रधानमन्त्री शाहले दीक्षित प्रहरी निरीक्षकहरूलाई बधाई दिँदै सफल कार्यकाल र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभयो। प्रहरी सेवामा रहँदा उनीहरूलाई निरन्तर प्रेरणा, सहयोग र हौसला प्रदान गर्ने परिवारजनप्रति पनि उहाँले आभार व्यक्त गर्नुभयो।
दीक्षित प्रहरी निरीक्षकहरूले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै नागरिकको सुरक्षा, कानुनको कार्यान्वयन र अपराध नियन्त्रणमा जिम्मेवार भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।