सोमबार ३ कार्तिक, २०८३
कार्तिक २, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीका कर्म गर्नुपर्ने जनाएको छ।
समितिबाट स्वीकृत पात्रोमा कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी उल्लेख गरिएको छ। समितिका पूर्वसदस्य एवम् वाल्मिकी विद्यापीठको धर्मशास्त्र विभागका प्रमुख प्रा. डा. देवमणि भट्टराईका अनुसार कात्तिक १ गते गरिएको महाअष्टमीको कर्म कात्तिक २ गते पनि दशैँघर वा पूजाकोठामा दोहोर्याउनुपर्ने हुन्छ।
कात्तिक २ गते नवरात्रको नवौँ दिन भए पनि धार्मिक विधिअनुसार अष्टमीका कर्म भने दोहोर्याउनुपर्ने उनले बताए। यस दिन दशैँघर वा पूजाकोठामा नवदुर्गामध्ये आठौँ देवी महागौरीको पूजा–आराधना गर्नुपर्नेछ। महाअष्टमीका दिन गरिने अन्य धार्मिक कर्मसमेत दोहोर्याउनुपर्ने उनको भनाइ छ।
आश्विन शुक्ल अष्टमीको राति गरिने कालरात्रि पूजा भने कात्तिक १ गते राति नै गर्नुपर्ने समितिबाट स्वीकृत पात्रोमा उल्लेख छ। अष्टमी तिथि दुई दिन परेकाले यस वर्षको नवरात्र दशरात्र बन्न पुगेको छ। यससँगै विजयादशमीका दिन लगाइने टीकामा १० रात्रिका जमरा समावेश हुनेछन्। देवीको साधना, पूजा तथा आराधना गर्न एक दिन थपिँदैमा धार्मिक दृष्टिले कुनै फरक नपर्ने धर्मशास्त्रविद्हरूको भनाइ छ।
राज्यका तर्फबाट हनुमानढोकामा गरिने कालरात्रि पूजा भने कात्तिक २ गते सोमबार राति गरिने भएको छ। हनुमानढोका दरबार हेरचाह अड्डाकी कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानका अनुसार नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिसँगको परामर्श र तलेजुका पुजारीको परम्पराअनुसार यस्तो निर्णय गरिएको हो।
हनुमानढोका दरबारमा महाअष्टमीको कर्म सम्पन्न गरेलगत्तै अर्को दिन महानवमीको पूजा–आराधनालगायत धार्मिक विधि गर्ने परम्परा रहेकाले राज्यस्तरको कालरात्रि पूजा सोमबार राति गर्न लागिएको उनले जानकारी दिइन्।
हनुमानढोका दरबारको दशैँघरमा कात्तिक १ गते आइतबार पनि महाअष्टमीको सामान्य पूजा गरिएको थियो। दरबार हेरचाह अड्डाका अनुसार महाअष्टमीको मूल पूजा भने सोमबार गरिनेछ। महाअष्टमीको राति हनुमानढोका दरबारमा १०८ पशुबलिसहित पूजा–आराधना गर्ने परम्परा रहिआएको छ।