मंगलवार ११ फाल्गुन, २०७७
११ फागुन, चितवन ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलले संसद विघटनको सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसलालाई स्वीकार गर्ने बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले संसद विघटन सदर नगरे आन्दोलन गर्ने अभिव्यक्ति दिएको भनेर समाचार सार्वजनिक भइरहेका बेला ओली निकट पोखरेलले सर्वोच्चको फैसला नमान्ने कुरा अलोकतान्त्रिक हुने बताएका हुन ।
ओली समूह निकट प्रेस संगठन चितवनले आज आयोजना गरेको पत्रकार भेटघाटमा पोखरेलले ‘सर्वोच्च अदालतले गरेकोफैसला गलाई नमान्ने कुरा नहुने बताएका हुन् ।
सरकारविरोधी दलहरुले निर्वाचनमा जाने कुरालाई अलोकतान्त्रिक र प्रतिगमनको संज्ञा दिएको चर्चा गर्दै उनले जनतामा जाने कुरा कहिले पनि अलोकतान्त्रिक नहुने बताए । निर्वाचनबाट ताजा जनादेश प्राप्त हुने उनको भनाइ छ । ताजा जनादेशमा जानुमै सबैको हित हुने उनको भनाइ छ । ‘नेपाली जनताले इच्छाएको पार्टी र प्रतिनिधिलाई विजयी बनाउने अवसर आएको छ , जसले जे भने पनि आखिर सबै चुनावमा जानुको विकल्प छैन ,’ उपप्रधानमन्त्री पोखरेलले भने ।
उनले नेकपाको पहिलो अध्यक्ष केपी शर्मा ओली भएकाले निर्वाचन आयोगले सूर्य चुनाव चिह्न आफूहरुलाई नै दिने विश्वास समेत व्यक्त गरेका छन ।