मंगलवार ११ जेष्ठ, २०७८
जेठ ११, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीसँग हालै भेट नगरेको स्पष्टीकरण सर्वोच्च अदालतले दिएको छ ।
सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले मंगलबार विज्ञप्ति जारी गरी प्रधानन्यायाधीश र प्रधानमन्त्रीबीच भेट भएको भनी सञ्चार माध्यममा आएको समाचारमा सत्यता नरहेको बताएका छन् ।
सुदृढ, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका एवं विधिको शासनको सुनिश्चितता तथा न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धिमा सर्वोच्च अदालत सदैव गम्भीर, सचेत र संवेदनशील एवं पूणर् प्रतिवद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रधानमन्त्री ओली र प्रधानन्यायाधीश जबराबीच जेठ १० गते प्रधानमन्त्री निवासमा भेट भएको समाचार सार्वजनिक भएका थिए । सर्वोच्चले समाचार सत्य नभएको भन्दै यसले न्यायपालिकाको स्वच्छता र यसप्रतिको आस्था र विश्वासमा प्रतिकुल प्रभाव पार्ने बताएको छ ।