शुक्रबार २४ मंसिर, २०७८
मंसिर २४, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आज मानव अधिकार तथा शान्ति समाजले काठमाडौंमा प्रदर्शन गरेको छ ।
अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा शान्ति समाजले काठमाडौंको बौद्धस्थित शान्ति स्तुपा अगाडि प्रदर्शन गरेको हो ।
प्रदर्शनका सहभागीहरुले ‘अनैतिक’ प्रधानन्यायाधीश ः शीघ्र राजीनामा देऊ’, ‘प्रधानन्यायाधीशले राजीनामा नदिए महाअभियोग लगाऊ’, ‘वर्तमानको आवश्यकताः न्यायालयको शुद्धीकरण’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका हुन् ।
समाजका केन्द्रीय सभापति गोविन्द खनालले प्रधानन्यायाधीश राणाले लोकतन्त्रलाई धरापमा पारेको आरोप लगाएका हुन् । राणाको न्यायिक आचरणमाथि प्रश्न उठेको र पछिल्लो चरणमा उनी नैतिक रुपमा पनि च्युत भएको भन्दै शीघ्र राजीनामा दिन उनले सुझाए ।
कार्यक्रममा समाजका पूर्व सभापतिहरु उत्तम पुडासैनी र होमकान्त चौलागाईं, महासचिव रामकृष्ण बराल र काठमाडौं सभापति भगवान पुडासैनीलगायत सहभागी थिए ।