मंगलवार १९ श्रावण, २०८३
साउन १९ काठमाडौं ,महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्याउने उद्देश्यले तयार गरिएको गीति एल्बम जागृति काठमाडौंमा आयोजित विशेष समारोहबीच लोकार्पण गरिएको छ ।
मिलापको आयोजनामा सम्पन्न कार्यक्रममा साहित्य, संगीत र संस्कृतिको त्रिवेणी संगमको अनुभूति गराउँदै महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई नयाँ पुस्तासँग जोड्ने प्रयास गरिएको थियो ,दाहालद्वारा रचित स्वेतपत्र महाकाव्य तथा योद्धा काव्यबाट साभार गरिएका गीतहरू समेटिएको जागृतिलाई नेपाली काव्य परम्पराको भावभूमिमा संगीतको नवीन प्रयोगका रूपमा प्रस्तुत गरिएको छ ,चलचित्र निर्देशक माधवराज खरेलको सहजीकरणमा सम्पन्न भएको समारोहको सभापतित्व मिलापका प्रधान सम्पादक कृष्ण भुसालले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा शिक्षाविद् डा.यज्ञेश्वर निरौलाकाे उपस्थित रहेकाे थियाे ।

समारोहको प्रारम्भमा गायक रमेश पाठकले स्वागत मन्तव्य व्यक्त गर्दै साहित्यिक सिर्जनालाई संगीतमार्फत आम श्रोतासम्म, विशेषतः युवा पुस्तामाझ पुर्याउनु समयको आवश्यकता भएको उल्लेख गर्नुभयो ,पाठकले जागृति केवल एउटा गीति एल्बम नभई नेपाली साहित्यलाई श्रव्य–दृश्य माध्यमबाट नयाँ पुस्तासम्म पुर्याउने अभियानको महत्त्वपूर्ण कोशेढुंगा बन्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा एल्बममा समावेश पाँच गीत बुद्धको देश नेपाल, लालीगुराँसको साटो, बित्छ बिहान आमाको, फुल्छ बागमा फूल र गाउँछौ अब लौ आमाका गीत औपचारिक रूपमा सार्वजनिक गरिएको थियो , यी गीतहरूमा राष्ट्रप्रेम, मातृत्व, प्रकृतिप्रेम, सांस्कृतिक गौरव र मानवीय संवेदनाका विविध आयाम सशक्त रूपमा अभिव्यक्त भएका छन् ।
एल्बमका तीन गीत बुद्धको देश नेपाल, लालीगुराँसको साटो र फुल्छ बागमा फूलमा कीर्तिमानी संगीतकार तथा गायक श्रेष्ठको स्वर रहेको छ , बित्छ बिहान आमाको मा वरिष्ठ गायिका ज्ञानु राणा तथा गाउँछौ अब लौ आमाका गीत मा गायक रमेश पाठकको स्वर सुन्न सकिन्छ ,सम्पूर्ण गीतमा संगीतकार सन्तोष श्रेष्ठले संगीत गर्नुभएको छ , कार्यक्रममा उपस्थित साहित्यकार, कलाकार तथा अतिथिहरूले गीतहरूको श्रव्य-दृश्य प्रस्तुति अवलोकन गर्दै सकारात्मक प्रतिक्रिया व्यक्त गरेका थिए ।
सोही अवसरमा साहित्यकार डा.विलोल पोखरेललाई साहित्यिक तथा सांस्कृतिक क्षेत्रमा पुर्याउनुभएको उल्लेखनीय योगदानको कदरस्वरूप मिलाप कभर सम्मान प्रदान गरिएको थियो भने मिलापद्वारा प्रकाशित वर्ष १७, अंक १ को विशेष आवरणमार्फत प्रदान गरिएको उक्त सम्मान ग्रहणपछि उहाँले सिर्जनाको सम्मान भनेको समग्र साहित्यिक समुदायको सम्मान भएको धारणा व्यक्त गर्नुभयो ,त्यस अवसरमा उहाँले आफ्नो एक कविता समेत वाचन गर्नुभएको थियो ।

कार्यक्रमको समापन गर्दै सभापति कृष्ण भुसालले साहित्य र संगीतको सहकार्यले नेपाली सिर्जनशीलतालाई नयाँ आयाम प्रदान गरिरहेको उल्लेख गर्नुभयो , भुसालले जागृतिले नेपाली काव्य, संगीत र संस्कृतिप्रेमीबीच दीर्घकालसम्म सकारात्मक प्रभाव छाड्ने विश्वास व्यक्त गर्दै यस्ता सिर्जनात्मक अभियानलाई निरन्तरता दिन साहित्यकार, कलाकार, सांस्कृतिक संस्था तथा सञ्चारमाध्यमबीच अझ सशक्त सहकार्य आवश्यक रहेको बताउनुभयो ,साहित्यका अक्षरहरू जब संगीतका स्वरमा घुल्छन्, तब तिनले केवल कानलाई होइन, चेतनालाई पनि स्पर्श गर्छन् , जागृति त्यही सांगीतिक यात्राको एउटा सशक्त दस्तावेज बनेर नेपाली साहित्य र संगीतको साझा सम्पदामा थपिएको बताउनु भयाे ,कार्यक्रममा साहित्य, संगीत र सञ्चार क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।