आईतवार २४ श्रावण, २०८३ (Sunday August 09, 2026)

आज ३२औं विश्व आदिवासी दिवस ,अधिकार, पहिचान र मौलिक संस्कृतिको संरक्षणमा जोड ।

आईतवार २४ श्रावण, २०८३ Bichar Batika 1071


आज ३२औं  विश्व आदिवासी दिवस ,अधिकार, पहिचान र मौलिक संस्कृतिको संरक्षणमा जोड ।

साउन २४ काठमाडौं,  आज ३२औं विश्व आदिवासी दिवस  श्वभरका आदिवासी जनजातिको अधिकार, पहिचान, भाषा, संस्कृति, परम्परा तथा जीवनशैलीको संरक्षण र सम्मान गर्ने उद्देश्यले हरेक वर्ष अगस्ट ९ तारिखमा अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस मनाइन्छ।
  सन् १९८२ मा जेनेभामा संयुक्त राष्ट्रसंघको आदिवासी जनसंख्यासम्बन्धी कार्यदलको पहिलो बैठक बसेको दिनको स्मरणमा गर्दै संयुक्त राष्ट्रसंघले सन् १९९४ देखि अगस्ट ९ लाई विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेसगै अगस्ट ९ मा विश्व अन्तरास्ट्रिय आदिवासी दिवसको रूपमा मनाउन थालिएको हाे ।
संयुक्त राष्ट्रसंघका अनुसार विश्वका करिब ९० देशमा ४७ करोड ६० लाख आदिवासी जनसंख्या रहेको अनुमान छ, उनीहरूले विश्वका हजारौँ भाषामध्ये ठूलो हिस्सा बोल्छन् र करिब ५ हजार विभिन्न सांस्कृतिक पहिचानसँग जोडिएका छन्, आदिवासी समुदायको जीवन प्रकृति, भूमि, जंगल, परम्परागत ज्ञान र सामुदायिक संस्कृतिसँग गहिरो रूपमा जोडिएको छ। 
संयुक्त राष्ट्रसंघले सन् २०२६ को विश्व आदिवासी दिवसको विषय “Honouring Indigenous Midwives: Safeguarding Life and Well-being” अर्थात् “आदिवासी परम्परागत धाई/सुत्केरी सेविकाको सम्मान : जीवन र कल्याणको संरक्षण” भन्ने विषयमा केन्द्रित गरेको छ। यसले आदिवासी समुदायमा पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको परम्परागत स्वास्थ्य ज्ञान र मातृ तथा शिशु स्वास्थ्यमा आदिवासी धाईहरूको भूमिकालाई सम्मान गर्ने उद्देश्य राखेको छ।
संयुक्त राष्ट्रसंघका अनुसार आदिवासी ज्ञान प्रणालीमा स्वास्थ्य, प्रकृति, समुदाय, संस्कृति र जीवनपद्धतिबीचको सम्बन्धलाई समेटिएको हुन्छ। तर यस्ता परम्परागत ज्ञान र सेवाहरू अझै पनि विभेद तथा संरचनागत अवरोधका कारण औपचारिक स्वास्थ्य प्रणालीमा पर्याप्त रूपमा मान्यता पाउन सकेका छैनन्। 
बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश नेपालमा पनि आदिवासी जनजातिको सामाजिक, सांस्कृतिक र ऐतिहासिक योगदान महत्वपूर्ण छ,नेपालको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ ले आदिवासी जनजातिलाई मातृभाषा, परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, सामाजिक संरचना तथा लिखित वा अलिखित इतिहास भएको समुदायका रूपमा परिभाषित गरेको छ,उक्त ऐनमा ६० आदिवासी जनजाति सूचीकृत छन्। 
गुरुङ, मगर, तामाङ, शेर्पा, राई, लिम्बु, थारू, नेवार, सुनुवार, थकाली, माझी, चेपाङ, भुजेललगायत विभिन्न समुदायले नेपालको कला, संस्कृति, भाषा, साहित्य, संगीत, परम्परा, कृषि तथा सामाजिक जीवनमा महत्वपूर्ण योगदान दिएका छन्। 
विश्व आदिवासी दिवस केवल सांस्कृतिक उत्सव मनाउने दिन मात्र नभई अधिकार, समानता र पहिचानको सवाल उठाउने अवसर पनि हो। आदिवासी समुदायले आफ्नो मातृभाषामा शिक्षा, संस्कृति संरक्षण, परम्परागत ज्ञानको सम्मान, भूमि तथा प्राकृतिक स्रोतसँग सम्बन्धित अधिकार, समान राजनीतिक प्रतिनिधित्व र आर्थिक–सामाजिक अवसरको माग गर्दै आएका छन्।
विश्वभर आदिवासी समुदायले गरिबी, भेदभाव, शिक्षा तथा स्वास्थ्यमा पहुँचको कमी, सांस्कृतिक पहिचानमा आएको दबाब र परम्परागत भूमि तथा प्राकृतिक स्रोतको संरक्षणजस्ता चुनौती सामना गरिरहेका छन्,संयुक्त राष्ट्रसंघले आदिवासी समुदायलाई उनीहरूको पहिचान र अधिकारसहित विकासको मूलधारमा अर्थपूर्ण रूपमा सहभागी गराउनुपर्नेमा जोड दिँदै आएको छ।
आदिवासी समुदायको पहिचानको महत्वपूर्ण आधार मातृभाषा हो। तर विश्वमा बोलिने करिब ७ हजार भाषामध्ये कम्तीमा ४० प्रतिशत कुनै न कुनै स्तरमा लोपोन्मुख अवस्थामा रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ, आदिवासी भाषाहरू विद्यालय र सार्वजनिक क्षेत्रमा पर्याप्त प्रयोग नहुँदा ती भाषाहरू अझ बढी जोखिममा छन्। त्यसैले संयुक्त राष्ट्रसंघले सन् २०२२–२०३२ लाई आदिवासी भाषाको अन्तर्राष्ट्रिय दशकका रूपमा अघि बढाएको छ। 
आदिवासी समुदायको परम्परागत ज्ञान र जीवनपद्धति प्राकृतिक स्रोत तथा वातावरणसँग नजिकबाट जोडिएको हुन्छ, संयुक्त राष्ट्रसंघका अनुसार आदिवासी भू–क्षेत्रहरूले विश्वका बाँकी रहेका धेरै महत्वपूर्ण जैविक विविधता र वन क्षेत्रको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेका छन्, उनीहरूको परम्परागत ज्ञान जलवायु परिवर्तन, खाद्य सुरक्षा र वातावरण संरक्षणका लागि पनि उपयोगी मानिन्छ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु