सोमबार १२ आश्विन, २०८३
असाेज १२ काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले घरेलु तथा साना उद्योगको प्रवद्र्धन, औद्योगिक सुरक्षा र नयाँ उद्यमी उत्पादनलाई प्राथमिकतामा राख्दै आवश्यक नीतिगत तथा कानुनी सुधार गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
नेपाल घरेलु तथा साना उद्योग महासंघको माइतीघरस्थित सचिवालयमा आयोजित छलफलमा मुख्यमन्त्री मगरले स्थानीय कच्चा पदार्थको उपयोग, रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जन र युवा पलायन रोक्न घरेलु तथा साना उद्योगको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो।
उहाँले उद्योग स्थापनापछि बस्ती विस्तारका कारण स्थानीय विरोध भई उद्योग स्थानान्तरण गर्नुपर्ने समस्या समाधानका लागि प्रदेश सरकारले कानुनी व्यवस्था गरेको जानकारी दिनुभयो। आवश्यक प्रक्रिया पूरा गरेर सञ्चालनमा आएका उद्योगलाई अनावश्यक स्थानान्तरण हुन नदिई सुरक्षा प्रदान गरिने उहाँको भनाइ छ।
स्थानीय उत्पादनको बजारीकरणका लागि हेटौँडामा ‘कोसेली घर’ निर्माण भइसकेको र जग्गा उपलब्ध भएका अन्य जिल्लामा पनि विस्तार गरिने उहाँले बताउनुभयो। महिला उद्यमीलाई सहुलियतपूर्ण ऋण तथा जिल्लास्तरीय औद्योगिक प्रदर्शनीका लागि बजेट व्यवस्था गरिएको जानकारीसमेत दिनुभयो।
मुख्यमन्त्री मगरले उद्योग सञ्चालनमा ब्याजदरको स्थिरता आवश्यक रहेको बताउँदै बैंकको ब्याजदर विगतको १४–१५ प्रतिशतबाट घटेर अहिले ६–७ प्रतिशतको हाराहारीमा आएको उल्लेख गर्नुभयो। उद्योगीलाई सहज हुने गरी स्थिर ब्याजदर कायम गर्नुपर्ने उहाँको भनाइ छ।
महासंघकी अध्यक्ष शोभा गुरुङले उद्योग दर्ता तथा नवीकरण प्रक्रिया सरल बनाउन, स्वदेशी उत्पादनलाई प्राथमिकता दिन र महिला तथा युवा उद्यमशीलता प्रवद्र्धन गर्न सरकारसँग आग्रह गर्नुभयो। सार्वजनिक निकायको खरिदमा कम्तीमा ३० प्रतिशत स्वदेशी एमएसएमई उत्पादन अनिवार्य गर्नुपर्ने उहाँको माग छ।

केन्द्रीय महिला उद्यमी समिति अध्यक्ष रिता अवालले पूँजी, ब्याजदर, प्रविधि, बजार, कच्चा पदार्थ र आयातित वस्तुसँगको प्रतिस्पर्धाका कारण साना उद्यमी समस्यामा रहेको बताउनुभयो। उहाँले घरेलु तथा साना उद्योग विकास कोष स्थापना, सहुलियतपूर्ण कर्जा, रुग्ण उद्योग पुनरुत्थान तथा स्थानीय उत्पादनलाई सरकारी खरिदमा प्राथमिकता दिन माग गर्नुभयो।
कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष डम्बरप्रसाद रेग्मी, महासचिव विनोददेव पन्तलगायतले घरेलु तथा साना उद्योगका समस्या र समाधानका उपायबारे धारणा राख्नुभएको थियो।
