शनिबार १७ आश्विन, २०८३
असाेज १७ काठमाडौं । दसैंको अवसर पारेर असोज ३० गतेदेखि प्रदर्शनमा आउन लागेको एक्सन फिल्म ‘१२ गाउँ २’को दोस्रो रोमान्टिक गीत ‘लालीगुराँस’ सार्वजनिक गरिएको छ। एक्सनप्रधान फिल्मको नयाँ गीतले मुख्य जोडी समीर भट्ट र कृशु शाही (काफिया)को प्रेमिल पक्षलाई दर्शकमाझ ल्याएको छ।
शिव परियार र भारतीय गायिका सरोदी कुमार (बोरा)को स्वर रहेको गीतमा युग भुसालको शब्द तथा संगीत छ। भोजपुरी र हिन्दी फिल्मका विभिन्न गीतमा स्वर दिइसकेकी सरोदीले यस गीतमार्फत नेपाली फिल्ममा स्वर दिएकी हुन्।
रामजी लामिछानेको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा समीर र कृशुलाई हिमाली तथा पहाडी भूगोलका रमणीय दृश्यबीच रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ। ‘१२ गाउँ २’बाटै अभिनेत्रीका रूपमा डेब्यू गरेकी कृशु र समीरको जोडीलाई गीतमा आकर्षक रूपमा देखाइएको छ।
महेश पौडेलको छायांकन तथा बन्दे प्रसादको सम्पादन रहेको भिडियोमा नेपालको प्राकृतिक सौन्दर्यलाई कथाको भावसँग जोडेर प्रस्तुत गरिएको छ।

विराज भट्टको निर्देशनमा बनेको फिल्ममा भट्ट स्वयं मुख्य भूमिकामा छन्। फिल्ममा अनुपविक्रम शाही, वर्षा इटानी, खुशी कार्की, प्रकाश शाह, सुनिल पोखरेल, कनिज कोइराला, कालु राना, पुष्कर भट्ट, शिवकुमार सिंह, नेहा आरएल शाह, पूर्णबहादुर गन्धर्व र साहिल सिंह ठकुरीलगायत कलाकारको अभिनय छ। फिल्मकी निर्माता सरस्वती भट्ट हुन्।
फिल्मको लेखन सन्तोष सरकारले गरेका छन् भने स्टन्ट सिल्भा र शंकर महर्जनको द्वन्द्व निर्देशन, कालाचरणको पार्श्व संगीत तथा गीता गुरप्पाको ध्वनि संयोजन रहेको छ।
‘१२ गाउँ २’ २०८१ सालमा प्रदर्शन भएको ‘१२ गाउँ’को सिक्वेल हो। एक्सन, प्रेम र रोमान्सलाई समेटिएको फिल्म दसैंको छेको पारेर दर्शकमाझ आउँदैछ।