बुधबार १५ बैशाख, २०७८
वैशाख १५, पोखरा । सभामुख नेत्रनाथ अधिकारीले गण्डकी प्रदेशका तीन जना सांसद र एक जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको भन्दै प्रदेश सभाको बैठक भने प्रभावित नहुने बताए ।
सभामुख अधिकारीले भने, ‘संसद बैठक निर्धारित समयमै सुरु हुन्छ, माननीयलाई बोल्न दिने, मत हाल्न दिने हिजो नै सहमति भएको हो ।’ कोरोना देखिँदैमा संसदको कार्यसूची तलमाथि नहुने उनले बताए ।
बुधबार दिउँसो १ बजे गण्डकी प्रदेशसभाको बैठक बोलाइएको छ । पीसीआर परीक्षणविना प्रदेशसभाको बैठक बसाइएको भन्दै मंगलबार सत्तारुढ नेकपा एमालेका प्रदेशसभा सदस्यहरुले बैठक अवरुद्ध गरेका थिए ।
गण्डकीको विशेष अधिवेशन विपक्षी सांसदहरुको समावेदनको आधारमा मंगलबारबाट सुरु भएको थियो । विशेष अधिवेशनबाट मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव टुंगो लगाइने छ ।
बिहिबार अविश्वास प्रस्तावमा मतदानको तयारी छ ।संक्रमित व्यक्तिलाई पनि मतदानको व्यवस्था मिलाउने प्रदेशसभा सचिवालयले जनाएको छ ।
संक्रमितको दर बढ्दै गएपछि गण्डकी प्रदेशको राजधानी पोखरासहित कास्की जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ ।