आईतवार २१ भाद्र, २०८३
भदौ २१ काठमाडौं , पृथ्वी राजमार्गअन्तर्गत नागढुङ्गा–मुग्लिङ सडक खण्डको कृष्णभीरमा बाढीका कारण भासिएको सडकको विकल्पमा नयाँ डाइभर्सन ट्र्याक निर्माण गरिएको छ,भित्तो काटेर करिब २५२ मिटर लामो वैकल्पिक ट्र्याक खोलिएको हो।
गत भदौ १० गते आएको बाढीले सडकको तल्लो भाग कटान गरेपछि कृष्णभीर क्षेत्रमा सडक भासिँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो, सडक सञ्चालनलाई छिटो सुचारु गर्ने उद्देश्यले निर्माण व्यवसायीले नेपाल जियोटेक सोसाइटीका प्राविधिक, सडक विभागका प्रतिनिधि तथा अन्य विज्ञसँग समन्वय गरी वैकल्पिक मार्ग निर्माण गरेका हुन्।
निर्माण व्यवसायी महासंघका उपाध्यक्ष शहदेव खड्काका अनुसार हाल खोलिएको ट्र्याकमा आवश्यक निर्माण उपकरण तथा मेसिन परिचालन गरी थप काम भइरहेको छ, ट्र्याकको ग्रेड मिलाउने, पानी निकासको उचित व्यवस्थापन गर्ने तथा भित्तो मजबुत बनाउने काम सम्पन्न भएपछि बढीमा एक साताभित्र सवारीसाधन सञ्चालन गर्ने लक्ष्य राखिएको छ।
जटिल भौगोलिक अवस्थाका साथै थप वर्षा र बाढीबाट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै भासिएको सडकभन्दा माथिल्लो भागबाट वैकल्पिक ट्र्याक खोलिएको जनाइएको छ। तत्काल कालोपत्र नगरी ग्राभेल बिछ्याएर दुईतर्फी रूपमा सवारीसाधन सञ्चालन गर्ने तयारी गरिएको छ।
बाढीका कारण कृष्णभीर, परेवाभीरलगायत पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक कटान भएपछि यातायात सेवा प्रभावित बनेको छ। राजमार्ग अवरुद्ध हुँदा पश्चिम क्षेत्रबाट काठमाडौं आउने सवारीसाधनका साथै खाद्यान्न तथा अत्यावश्यक सामग्रीको ढुवानीमा समेत समस्या परेको छ।
हाल सवारीसाधनलाई कान्ति राजमार्ग र त्रिभुवन राजपथ हुँदै वैकल्पिक रूपमा सञ्चालन गरिएको छ। सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउन अन्य प्रभावित स्थानमा समेत वैकल्पिक ट्र्याक निर्माण तथा मर्मतसम्भारको कामलाई तीव्रता दिइएको सम्बन्धित पक्षले जनाएको छ।