मंगलवार २७ आश्विन, २०८३
असोज २७ ,काठमाडौं । बडादसैँअन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गामध्येकी तेस्री देवी चन्द्रघण्टा माताको पूजा–आराधना गरी मनाइँदै छ। नवरात्रको यस दिन देवी दुर्गाको चन्द्रघण्टा स्वरूपको विधिपूर्वक पूजा गर्ने धार्मिक परम्परा छ।
धार्मिक मान्यताअनुसार चन्द्रघण्टा देवीलाई शक्ति, साहस, शान्ति र पराक्रमकी प्रतीकका रूपमा पूजा गरिन्छ। उहाँको शिरमा अर्धचन्द्र घण्टाको आकारमा सुशोभित भएकाले यस स्वरूपलाई चन्द्रघण्टा भनिएको धार्मिक विश्वास छ। सिंहमा सवार हुने देवी चन्द्रघण्टालाई दुष्ट शक्तिको विनाश गरी भक्तजनको रक्षा गर्ने देवीका रूपमा पनि लिइन्छ।
नवरात्रको तेस्रो दिन देशभरका दुर्गा मन्दिर तथा शक्तिपीठहरूमा बिहानैदेखि भक्तजनको घुइँचो लाग्ने गर्दछ। श्रद्धालुहरूले देवीको दर्शन, पूजा–आराधना तथा दुर्गा सप्तशती पाठ गरी परिवारको सुख, शान्ति, समृद्धि र कल्याणको कामना गर्छन्।
दसैँमा शक्तिस्वरूपा नवदुर्गाको नौ दिनसम्म फरक–फरक स्वरूपमा पूजा गर्ने परम्परा छ। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी र तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिन्छ।
नवरात्रका नौ दिनलाई शक्ति उपासनाको विशेष समयका रूपमा लिइन्छ। धार्मिक विश्वासअनुसार श्रद्धापूर्वक देवीको आराधना गर्दा साहस, आत्मविश्वास र सकारात्मक ऊर्जा प्राप्त हुन्छ।