मंगलवार २७ आश्विन, २०८३
असोज २७,काठमाडौं । वैदेशिक रोजगारीमा जानुपर्ने नेपालीहरूको बाध्यता र त्यसले निम्त्याउने मानवीय पीडाको कथा समेट्दै नेपाली फिल्म ‘बाकस’ निर्माण हुने भएको छ। नवीन पन्तको निर्देशनमा बन्न लागेको फिल्मको मंगलबार ललितपुरस्थित बंगलामुखी मन्दिरमा विशेष पूजाआजा गर्दै शुभमुहूर्त गरिएको छ।
नवरात्रिको अवसर पारेर शुभमुहूर्त गरिएको फिल्मको छायांकन दसैंपछि सुरु हुने निर्माण पक्षले जनाएको छ। फिल्मले वैदेशिक रोजगारीका कारण नेपाली परिवारले भोग्नुपर्ने विछोड, पीडा र मानवीय संवेदनालाई मुख्य विषय बनाउनेछ।
पीके इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा विपना थापा, वर्षा राउत, महेश त्रिपाठी, भोलाराज सापकोटा, सुपला सपकोटा, ध्रुव कोइराला, पुष्कर राउत, विक्रम बुढाथोकी, हिउँवाला गौतम, रोहित श्रेष्ठ र विमल यादवसहितका कलाकारको अभिनय रहनेछ। फिल्ममा वर्षा र महेश जोडीका रूपमा प्रस्तुत हुनेछन्। यो उनीहरूको पहिलो सहकार्य हो।
सुजिता चौलागाईं निर्माता रहेको फिल्ममा राजन सिंह केसी र छत्रबहादुर खड्का सह-निर्माताका रूपमा छन् भने धर्मेन्द्र पन्त कार्यकारी निर्माता छन्। फिल्मको लेखन तथा निर्देशन नवीन पन्तले गरेका छन्।
फिल्ममा महेश पौडेलको छायांकन, दीपक शर्मा र सनम पुरुष राईको संगीत, सियोन श्रेष्ठको कोरियोग्राफी तथा किरण दाहालको द्वन्द्व निर्देशन रहनेछ।
निर्माण पक्षले ‘बाकस’लाई आगामी वर्ष प्रदर्शन गर्ने लक्ष्य राखेको छ। वैदेशिक रोजगारीसँग जोडिएका नेपालीका बाध्यता र त्यसले निम्त्याउने मानवीय पीडालाई पर्दामा उतार्ने लक्ष्यसहित फिल्म निर्माण गर्न लागिएको हो।