शनिबार १५ कार्तिक, २०८३ (Saturday October 31, 2026)

पत्रकार पक्राउ प्रकरणले रास्वपामा हलचल, रवि लामिछानेले बोलाए सचिवालय बैठक

शनिबार १५ कार्तिक, २०८३ Bichar Batika 1079


पत्रकार पक्राउ प्रकरणले रास्वपामा हलचल, रवि लामिछानेले बोलाए सचिवालय बैठक

कार्तिक १४, काठमाडौं । समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गरिएको घटनाले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र हलचल मच्चिएको छ। उक्त घटनापछि पार्टी सभापति रवि लामिछानेले आज शनिबार बिहान ११ बजे बस्ने गरी सचिवालय बैठक बोलाएका छन्।
समसामयिक राजनीतिक घटनाक्रम तथा पछिल्लो पत्रकार पक्राउ प्रकरणबारे छलफल गर्न बैठक आह्वान गरिएको रास्वपाका एक नेताले जानकारी दिएका छन्।
यसअघि सभापति लामिछानेले शुक्रबार साँझ कानुनमन्त्री सोबिता गौतमसहित पार्टीका कानुनविद् सांसदहरूसँग छलफल गरेका थिए। पत्रकार पक्राउ प्रकरणले सरकार र पार्टीको आलोचना बढेपछि रास्वपाले आन्तरिक छलफललाई तीव्रता दिएको हो।
शुक्रबार प्रहरीले समाचार कक्षमै प्रवेश गरी नेपालप्रेस, डीएनखबर र मोटिभेट न्युजका पत्रकारलाई नियन्त्रणमा लिएको थियो। त्यसैगरी, नयाँ पत्रिकाका पत्रकार नवराज मैनालीलाई पक्राउ गर्न प्रहरी टोली उनको कार्यालयमै पुगेको थियो।
समाचार लेखेकै आधारमा पत्रकारलाई नियन्त्रणमा लिइएको भन्दै पत्रकार महासङ्घ, सञ्चार क्षेत्रका विभिन्न सङ्घसंस्था तथा नागरिकस्तरबाट घटनाको चर्को आलोचना भएको थियो। चौतर्फी दबाब र आलोचनापछि नियन्त्रणमा लिइएका पत्रकारहरू रिहा भएका थिए।
यता, सरकार तथा प्रधानमन्त्रीको सचिवालयले भने पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्रीको कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन्।
पत्रकार पक्राउ प्रकरणले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतामाथि प्रश्न उठिरहेका बेला रास्वपाको सचिवालय बैठकलाई चासोका साथ हेरिएको छ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु