बिहीबार ८ आश्विन, २०८३
असाेज ८ काठमाडौं ।नेकपा (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाउने निर्णय गरेको छ, बिहीबार बसेको पार्टी सचिवालय बैठकको प्रस्तावलाई केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेसँगै भण्डारीलाई एमालेमा औपचारिक राजनीतिक जिम्मेवारी दिइएको हो, सार्वजनिक विवरणअनुसार भण्डारीलाई अध्यक्ष केपी शर्मा ओलीपछि दोस्रो वरीयतामा रहने गरी वरिष्ठ नेताको जिम्मेवारी दिइएको छ।
भण्डारी लामो समय पार्टी राजनीतिबाट अलग रहेर राष्ट्रपतिको जिम्मेवारीमा रहेकी थिइन्,राष्ट्रपतिको दुई कार्यकाल पूरा गरेपछि उनको एमाले सदस्यता नवीकरणको विषय लामो समय रोकिएको थियो,गत जेठमा सदस्यता पुनः कायम गर्ने निर्णय भएपछि भण्डारीकाे सक्रिय राजनीतिमा फर्किने बाटो खुलेको थियो।
यसैगरी, एमालेले ईश्वर पोखरेलसहित सात जना नेतालाई स्थायी कमिटी सदस्यमा मनोनित गरेको छ,स्थायी कमिटीमा मनोनित हुनेमा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली, पूर्वसभामुख देवराज घिमिरे,पूर्व उपसभामुख शिवमाया तुम्बाहाम्फे, लालबाबु पण्डित, थममाया थापा र काशीनाथ अधिकारी छन्।
सचिवालय बैठकले प्रस्ताव गरेका सातै जनाको नाम केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको छ, यससँगै एमालेले पूर्वपदाधिकारी तथा अनुभवी नेताहरूलाई स्थायी कमिटीमा समेट्दै पार्टीको नेतृत्व संरचनामा जिम्मेवारी बाँडफाँट गरेको छ।
पछिल्ला निर्णयसँगै पूर्वराष्ट्रपति भण्डारीको सक्रिय पार्टी राजनीतिमा औपचारिक पुनरागमन भएको छ भने पूर्वपदाधिकारी तथा नेताहरूलाई स्थायी कमिटीमा समेटेर एमालेले आफ्नो सांगठनिक संरचनालाई थप व्यवस्थित गरेको छ।